‘सुब्बा’ कति मौलिक र प्राचीन शब्द हो?

‘सुब्बा’ कति मौलिक र प्राचीन शब्द हो?

[अनुसन्धान] डा. नवराज सुब्बा

याक्थुङ लिम्बू जातिले थरमा लेख्ने ‘सुब्बा’ शब्दलाई धेरैले पृथ्वीनारायण शाहको पालादेखि चलेको पद्वी ठान्दछन् । अझ नेपाल एकीकरण मन नपराउने आदिवासीले त यसलाई राजनीतक चश्माले धमिलो देख्दछन् । यसरी यो शब्दलाई लिएर स्वयम् लिम्बू समुदायमा एकप्रकारको संशयपूर्ण दृष्टिकोणको विकास भएको पाइन्छ । हामी कति सतही रुपमा बाँचेका रहेछौं भन्ने बुझेपछि आफूले गरेको अध्ययन र धारणा सार्वजनिक गर्दैछु ।
सर्वप्रथम यसको पृष्ठभूमिमा म आफैलाई लिएर आफ्नो बाल्यकाल करिव २०२४ देखि २०३४ सालतिरको मेरो गाउँको ताप्लेजुङ हाङपाङस्थित सरस्वती विद्यालयतिर फर्कन्छु । त्यसबेला मैले विद्यालयमा मैले मेरो थर सुब्बा भनेर जानीबुझी लेखाएको होइन । मेरा अभिभावक र गुरुले नै सम्झीबुझी लेखिदिए होलान् । किनभने मेरो आरम्भका प्राइमरीका केही प्रमाणपत्रमा थरमा लिम्बू उल्लेखित छन् र मिडिल स्कूलपछि भने सुब्बा उल्लेखित छन् । विद्यालयमा पढ्ने मेरा सहपाठी धेरै खस–आर्य थिए । उनीहरुसित मेरो अन्तरङ्ग कुराकानी चल्दथ्यो । उनीहरु लिम्बू शब्दलाई काँचो मान्छे, हिस्रक, फौदारी खेल्न अघिसर्ने मान्छेका रुपमा चिन्दथे र अशिक्षित भएकाले यस्तो भएको भनेर बुझ्दथे । उपयुक्त मानिस छानेर हामी केटाकेटीको दौंतरी मिल्दोसित मित लगाईदिने चलन थियो । म पनि धेरैको मीत भएको छु । यहाँ मैले भन्न खोजेको बालमनोविज्ञानको सानो झलक हो जुनबेला एकजातिले अर्को जातिलाई कसरी हेर्दथे वा बुझ्दथे भनेर केवल कोट्याएको मात्र । यही सामाजिकीकरणको सिलशिलामा शायद मैले मेरो ‘सुब्बा’ थर बोल्न, लेख्न र चिन्नलाई सहज देखें होला ।
त्यसबेला विद्यालयमा नाम लेखाउन आउने लिम्बूहरु आफ्नो उपथर जस्तै आङबुहाङ, चङबाङ आदि लेख्दथे । लिम्बू लेख्न उति आवश्यक ठान्दैनथे । गाउँघरमा लेखिने तमसुक र सरकारी कागजातमा मात्र कामचलाउको लागि थरमा लिम्बू लेख्ने चलन थियो । लिम्बू समूदायभित्र भने एकआपसलाई बोलाउँदा याक्थुङ भन्ने चलन थियो । त्यसबेला लेख्न पढ्न जान्ने प्रायः आर्य–खस नै हुन्थे । उनीहरुलाई लिम्बू लेख्न जति सजिलो थियो लिम्बूको उपथर लेख्न अलि झन्झटिलो थियो । यसैले शिक्षित व्यक्तिको रोजाई पनि लिम्बू शब्द लेख्न सजिलो थियो । पढेर आखिर के गर्ने? एउटा राम्रो विकल्प थियो लाहुर जाने । त्यसबेला मलाया, ईण्डियाको लाहुर जानलाई परिचयपत्र वा सिफारिस चाहिएमा गाउँ पञ्चायतले कागजपत्र बनाइदिन्थे । गाउँ पञ्चायतको सिफारिसमा लिम्बू लेखे मात्र गोराले चिन्ने भएकाले आवेदकले पनि लिम्बू नै लेखिदिन आग्रह गरेपछि कागजपत्रमा लिम्बू लेख्ने चलन बढ्यो । विद्यालयमा पनि पछि लाहुर जानलाई प्रमाणपत्र निकाल्दा सजिलो हुने भएकाले धेरैले थर लिम्बू र कतिपयले उपथर समेत लेख्न थाले । यसरी लिम्बू लेख्ने धेरै भएपछि ‘सुब्बा’ शब्द किनारामा पर्दै गयो ।

२०३४ सालमा यो पङ्तिकार उच्चशिक्षाको लागि काठमाडौं गयो । चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगंज क्याम्पसमा पढ्ने विचारले फारम किन्न क्याम्पस पुगें । फारम विक्री काउण्टरमा फाराम किन्न मागें । उनले नाम सोधे मैले नाम थर बताएँ । उनी अचम्म मान्दै सुब्बा भनेको थर हो कि क्या हो? भनेर सोधे । मैले लिम्बू हो भनें । उनले अझै अचम्म माने । लिम्बू भनेको के हो? म पनि अप्ठेरोमा परें । कसरी सम्झाउँ भन्दाभन्दै मुखबाट निस्कियो राई जस्तै थर हो भनिदिएँ । उनले राई थर चाहिँ सुनेका थिए कि क्या हो! ए किराती हो? भनेर सोधे । मैले हो भनिदिएँ । यसरी काठमाडौंका नेवार जाति जस्ता देखिने त्रिविविका कर्मचारीलाई समेत त्यसबेला लिम्बू थरको बारेमा थाहा रहेन छ । त्यो थाहा पाएर म साँच्चीकै नौलो ठाउँमा आइपुगेंछु जस्तो लाग्यो । आजभन्दा चारदशक अघिको कुरो थियो त्यो । आज स्थिति फरक छ ।
अब ऐतिहासिक विषयवस्तु केलाऔं । लिम्बू समुदायमा किपट प्रथा अन्त्य भएर सुभाङ्गी खोसिएपछि सुब्बा लेख्ने कि नलेख्ने भन्ने सवाल उठ्नु स्वभाविक थियो । धेरैले आफ्नो अधिकार खोसिएपछि त्यो लेख्न नहुने विचार अघि सारे । त्यो आफैमा स्वभाविक होला तर कत्तिको उचित! के सुब्बा शब्द किपटसंग मात्र गाँसिएको छ त? उसोभए लिम्बूको राजसत्ता वा हाङ त झन् उहिल्यै खोसिएको हो, उसोभए थरपछि ‘हाङ’ लेख्न किन तँछाड् मछाड् गर्छन् त लिम्बूहरु? जवाफमा हामी त हाङ थियौं नि हौ भन्दै केवल गर्व गर्ने गर्दछन् । यसलाई गलत भन्न नसकिएला किनभने उनीहरुको पहिचानमा उनीहरुको पुर्खाको उपलब्धि वा पद्वी जोड्न खोज्नु आवश्यक पनि हुन्छ । मेरो सवाल केवल उसो भए हामी ‘सुब्बा’ पनि त थियौं नि किन नलेख्ने भन्ने हो । तर यो यो पद्वी वा शब्द त गोरखालीले दिएको पद्वी हो भनेर बुझ्ने धेरै लिम्बू छन् । उसोभए ‘सुब्बा’ साँच्चीकै गोरखालीले दिएको नेपाली भाषाको पद्वी नै हो त?
‘सुब्बा’ शब्द बर्तमान अवस्थामा नेपाली कर्मचारी प्रशासनमा प्रयोग भएको एक शब्दावली हो । यसैले यो शाहवंश वा राजतन्त्रले थोपरेको नेपाली शब्द होला भन्ने धेरैलाई लाग्न सक्दछ । अझ नेपाल एकीकरणका सूत्रधार पृथ्वीनारायण शाह विरोधी आदिवासीको दृष्टिमा यो शब्द वैरभाव लुकेको शब्द हो र यो थर लेख्ने परायका पात्र हुन् । यति विकृत स्वरुप समेत देखिन्छ लिम्बू–नेपाली राजनीतिक मनोविज्ञानको एउटा पक्ष ।
बर्तमानकालमा यो शब्दप्रति यस्तो विरोधभाव एवम् कटुतापूर्ण बीजको बिजारोपण कसले, किन, कहाँ र कहिले गर्यो होला? भनेर जिज्ञाशा उठ्नु स्वभाविक छ । भारतको सिक्किम राज्यको राजधानी गान्टोकमा सन् १९९८ मा लिम्बूको एक चुमलुङ (भेला) भयो । उक्त भेलाले अब ‘सुब्बा’ थर नलेख्ने भनेर निर्णय गर्यो । त्यहाँ लिम्बू जातिको आरक्षण अधिकार प्राप्तिका लागि राज्यविरुद्ध संगठित हुन त्यहाँका लिम्बूले यो विशेष निर्णय गरेका थिए । उक्त बैठकमा गरिएको अन्य निर्णयमा अब सिक्किमका लिम्बूले थर ‘लिम्बू’ (Limboo/ not Limbu) मात्र लेख्ने ।1 उपथर केही नलेख्ने । यो निर्णय राम्रो थियो वा नराम्रो थियो, त्यतातिर म नजाउँ । तर यसको प्रभावबारे मात्र केही चर्चा गर्दैछु । त्यसपछि सिक्किममा ‘सुब्बा’ लाई हेर्ने कर्केनजरको संख्या बढे । त्यसको सिको यता नेपालका लिम्बूले पनि गरे । त्यत्ति मात्र हैन सिक्किमका लिम्बू Limboo भए, नेपालका लिम्बू Limbu नै रहे । यसले ‘सुब्बा’ लेख्ने नलेख्नेबीच तथा Limboo र Limbu लेख्नेबीच विभेद आरम्भ भयो । सिक्किममा चलेको राजनीतिक तथा रणनीतिक अभियानका क्रममा चालिएको उक्त कदम लगायत धार्मिक अभियानले नेपालको लिम्बू समुदायमा अनावश्यक खिचलो वा विवाद र विभाजन ल्यायो । जेहोस्, ‘सुब्बा’ बहिष्कार आन्दोलन र अंग्रेजी हिज्जेमा (Limboo and Limbu) लेख्ने–नलेख्ने जुन अनावश्यक र विभेदकारी बर्तमान कदम चाल्न सिक्किमले नेपाललाई सिकायो ।
अब ‘सुब्बा’ शब्दको प्रारम्भ नेपाल एकीकरणपछि भएको हो भने भन्नेलाई मेरो प्रश्न– यो शब्दको आविष्कारक के पृथ्वीनारायण शाह हुन् त? उनले को को भाषावैज्ञानिक वा विद्वानको सहयोग लिएर यो शब्द जन्माए होला त? उनले केको आधारमा यो शब्द निर्माण वा विनिर्माण गरे होलान् ? या समुदायकै शब्दकोशबाट सापटी लिएर वा उनीहरुकै मौलिक शब्दभण्डारबाट केवल शब्दचयन मात्र गरेका हुन् कि? यसको जवाफ अब खोज्नै पर्दछ ।
पृथ्वीनारायण शाहले वि.स. १८३१ मा लिम्बूवानलाई गोरखा राज्यमा गाभे । उनको शासनकाल १९ औं शताब्दी थियो । तर यसअघि नै १७ औ शताब्दीमा किराती राजा महाराजा लोहाङ सेन (वि.स. १६६६–१६९८) ले देशको सीमाना निर्धारण गरिसकेपछि विस्तारित किरात राज्यलाई पाँच ठूल्ठूला प्रदेशमा विभक्त गरी प्रत्येक प्रदेश शासन गर्नका निमित्त एक–एकजना ‘सुब्बा’ नियुक्त गरे ।2 इतिहासकार इमानसिंह चेमजोङ अनुसार कोशी नदीपूर्व, टिष्टाछेउ महानदीको पश्चिम, जलालगढको उत्तर र विजयपुरको दक्षिणमा पर्ने चार किल्लाको भूभागमा फेदापका राजा बाज हाङका छोरा हाङ विद्याचन्द्र रायलाई सुब्बा पदमा नियुक्त गरी राजधानी विजयपुर गढीमा राखे । यसै गरी ताँबाकोशीको पूर्व, अरूणनदीको पश्चिम, सप्तरी प्रदेशको उत्तर, तिब्बतको दक्षिण यी चारकिल्लाको भूभागलाई खम्बुवान नामाकरण गरी नामदुङ हाङलाई सुब्बा पदमा नियुक्त गरे । खम्बुवानको राजधानी खोटाङगढीमा राखियो । महाराजा लोहाङ सेनले कमला नदीको पूर्व, कोशी नदीको पश्चिम, खम्बुवान पहाडी प्रदेशदेखि दक्षिणको भूभागलाई सप्तरी प्रदेश नाम राखे र त्यहाँ चाङबाङ हाङलाई सुब्बा पदमा नियुक्त गरे । सप्तरी प्रदेशको राजधानी भीमगढी (भीमनगर) मा राखियो । महाराजा लोहाङ सेनले मकवानपुर गढीको पश्चिम, त्रिशुली गण्डकी नदीको पूर्वको भागलाई मकवानपुर प्रदेश बनाइ त्यहाँ शेरिङ हाङ रायलाई सुब्बा पदमा नियुक्त गरे । यसरी माथिको तथ्यको आधारमा ‘सुब्बा’ पद्वी नेपाल एकीकरणपूर्व लोहाङ सेनको पालमा किरात जातिमा प्रयुक्त राजा समान पदावली हो । यो त पृथ्वीनारायणले त्यसबेला किरात लिम्बू समुदायमा प्रचलित एक सम्मानित तथा प्रचलित शब्दलाई टपक्क टिपेर उनीहरुकै समुदाय व्यवस्थापन गर्न उनीहरुकै पद्वीलाई अर्थसङ्कीर्ण गरी दिइएको पद्वी र शब्द हो । यसर्थ, सुब्बा पद्वी पृथ्वीनारायणको पालामा आरम्भ भएको हो वा उनले दिएपछि मात्र यो भन्ने वा लेख्ने चलनमा आएको हो भन्ने भनाई वा तर्क गलत छ ।
विचार गर्नुपर्ने अर्को महत्वपूर्ण कुरो के भने, शाहवंशले ‘सुब्बा’ पद्वी केवल लिम्बूलाई मात्र दिएनन् । यो पद्वी विभिन्न कालमा शाहवंशले आर्य–खस जातिलाई पनि दिएका थिए । उदाहरणको लागि प्रसिद्ध भाषाशास्त्री बालकृष्ण पोखरेलका पिताजी सुब्बा पद्वीधारी हुनुहुन्थ्यो । तर आज कुनै पनि आर्य–खस जातिले आफ्नो नाम, थरमा सुब्बा किन लेख्दैनन्? यत्तिकैमा महाकिरात जातिका लिम्बू, गुरुङ, थकाली भने अझै पनि सुब्बा लेख्छन् किन? किनभने यो सुब्बा शब्दको प्रचलन महाकिरातमा शाहवंशले उनीहरुलाई यो पद्वी दिनअघि नै सांस्कृतिक परम्पराको रुपमा स्थापित पद्वी थियो । महाकिरात (भोट–बर्मेली भाषा परिवार) मा ‘सुब्बा’ पद्वीले जरा गाडेको थियो र जो अझै पनि कायम छ । यो शब्द वा पद्वी आर्यखस जातिको वा नेपाली भाषाको आफ्नो मौलिक वा परम्परागत शब्द वा पद्वी नै होइन । उनीहरुको सामाजिक प्रथा संस्कृतिक परम्पराले यसलाई चिन्दैन । राज्यव्यवस्थाले केही समय उनीहरुलाई पुरस्कारको रुपमा दिए पनि उनीहरुले त्यसलाई पहिचानसित गाँसेर आफ्नो नाम थरमा कतै झुन्ड्याएनन् । यो काम गर्न उनीहरुले किन उचित ठानेनन् र प्रयोगमा ल्याएनन्? बुझ्नु पर्ने कुरा के छ भने ‘सुब्बा’ शब्द महाकिरातको सभ्यताको चिनो र देन हो । नेपाली भाषागत दृष्टिले हेर्दा ‘सुब्बा’ शब्द न तत्सम् शब्द हो न त तद्भव शब्द हो । न त यो झर्रो नेपाली शब्द नै हो । यो त महाकिरात भाषापरिवारबाट नेपाली शब्दभण्डारमा पछि थपिएको एक आगन्तुक शब्द हो । यसैले नेपाली शब्दकोशमा यसको परिभाषा एक प्रशासनिक दर्जा र लिम्बू जातिको मानबोधक शब्द भनिएको पाइन्छ । यो लिम्बू जातिको मानबोधक शब्द मात्र नभएर लिम्बू भाषाकै मौलिक शब्द पनि हो । लिम्बू भाषामा ब वर्णलाई आधा अक्षर जनाउने सानो वर्ण (चुकसक) छैन, यसकारण ब को सट्टा प वर्णको सानो वर्ण (चुकसक) लगाएर बोल्ने चलन छ । जस्तै लिम्बू जनजीब्रोमा सुब्बा लाई उच्चारण गर्दा सुप्बा, सुप्पा, सुबा, सुभा आदि भनिन्छ । यस्ता शब्द लिम्बू शब्दकोषमा धेरै छन् उदाहरणको लागि युप्पा, सुफा, सेप्मा, हेप्मा, लुम्बा, सुप्ना, फसुप्पा, केबा, येबा, थेबा, युङ्बा, थुङ्बा, यम्बा, च्यम्बा, तेनेबा आदि । यसैले हाल बोलिने वा लेखिने ‘सुब्बा’ मूल शब्दको विकृत स्वरुप हो । यसको मूल शब्द ‘सब’ हो । जे होस् ‘सुब्बा’ किरात लिम्बूको मौलिक शब्द हो । यति मात्र नभएर यो महाकिरात (भोट–बर्मेली भाषा परिवार) को एक साझा शब्द, सम्पदा, सामूहिक पहिचान र पैत्रिक चिनो समान शब्द हो ।
इतिहासकार इमानसिंह चेमजोङका अनुसार छैटौं शताब्दीको आरम्भमा चीनको सिंचुवानबाट दक्षिणपूर्वी दिशाबाट ब्रम्हपूत्र, बर्मा झरेका किरातका पुर्खा शान–मकवानले बर्माको मध्यभागमा एक राज्य स्थापना गरे । उनीहरुले राज्यप्रमुखलाई ‘सोब्वा’ (Showbwa) भन्दथे ।3 सोही ‘सोब्वा’ शब्दबाट हालको पद्वी वा थर सुब्बा (Subba) बनेको चेमजोङको दाबी छ । यो तथ्यलाई पुष्टि गर्ने विभिन्न स्थलका नाम हाल पूर्वी नेपालमा पाइन्छन् । जस्तै ‘सोब्वा’ शब्दबाट विकृत किरात क्षेत्रमा विभिन्न खोलाको नाम ‘सोबुवा खोला’ रहेका छन् । अरुण–बरुण क्षेत्रमा रहेको सभापोखरी पनि यही सोब्वा–पोखरीबाट पछि विकृत भएर सभापोखरी भनिएको पोङ–मुन्धुम, तुङदुङ्गे मुन्धुमबाट संकेत मिल्छ ।4
मुन्धुममा ‘लिम्बू’ शब्द पाइदैन किनभने लिम्बू शब्द बाहिरीयाले भन्ने वा बुझ्ने शब्द (Exonym) मानिन्छ । यो शब्दको प्रथम प्रयोग लिम्बूवानको गठनताका छैटौं शताब्दीमा भएको प्रमाण भेटिन्छ । बीचमा लामो कालखण्ड यो शब्दको प्रयोग भएको देखिंदैन । यसलाई राई शब्दले नै विस्थापित गरेको देखिन्छ । शाहकालीन लालमोहरहरुमा लिम्बूलाई राय वा राईले नै सम्बोधन गरिएको छ । लिम्बूको शाब्दिक अर्थ धनुर्वाण निपूर्णता दर्शाउने भएता पनि महाभारतकालमा लिम्बूका पुर्खालाई किरात शब्दले सम्बोधन गरेको देखिन्छ । यसैले लिम्बू शब्दको ऐतिहासिक गहिराई तुलनात्मक हिसबाले कम देखिन्छ । उता ‘सुब्बा’ शब्दको गहिराई मापन गर्दा यसको मूल शब्द ‘सब’, ‘शव’ सम्म पुगिन्छ । किरात इतिहासका ज्ञाता नारदमुनि थुलुङका अनुसार लिम्बू, किरात हुनुपूर्व तिनका पुर्खा बस्ने स्थल पर्सिया हो भनेर पर्सियाको इतिहासले बताउँछ । यिनीहरुका पुर्खालाई सौमर, सुमेर, मरुत भनेर सुमेर क्षेत्र वा बर्तमान अरब क्षेत्रमा शब जाति भनेर चिनिन्थे । प्राचीन कालमा अरबमा यिनीहरु शिव वा लिङ्गको पूजा गर्दथे । यसको अर्थ उनीहरु हिन्दू थिए भन्न खोजेको हैन । यो त आर्य सिन्धुमैदानमा आउनुपूर्व अर्थात् हिन्दू धर्मको नामाकरण हुनुपूर्वको पूर्ववैदिक भन्दा अघिको अवस्था हो । अरबको प्राचीन धर्मको नाम Fabaism वा Sabeanism थियो । यो Saba or Sawa धर्मको केन्द्र Harament प्रान्तमा थियो भनी इतिहासकारहरुले बताएका छन् । उक्त धर्ममा ग्रह–पूजा गरिन्थ्यो । यो धर्म र प्रदेशलाई Saba र धर्मावलम्बीलाई Sabeans भनिन्थ्यो । पौराणिक कालमा अरबको नाम भूमि, नभि, सुमेरु र श्रीनार थियो । देवासुर संग्रामको अधिकांश युद्ध यही भूमिमा भएको थियो भनी थुलुङले History of Persia Vol. 1 p101 लाई उधृत गर्दै बताउनु भएको छ । अरब तथा प्राचीन पर्सियामा ‘सब’ शब्द धर्म र जातिको रुपमा चलेको इतिहासले बताउँछ ।5 यही ‘सब’ शब्दलाई संस्कृत भाषाले कसरी चिनेको छ भनेर खोज्न सकिन्छ । संस्कृत भाषाको शब्द शव, शुभ शब्द यही सब शब्दबाट विकृत भएर बनेको अनुमान गर्न सकिन्छ । किनभने यो शब्दको अर्थ नियाल्दा त्यसबेलाका सौमर जातिको विशेषता र अवस्थालाई झल्काउने शुभ (असल) त कतै शव (मृत) भावार्थ भेटिन्छ । यसले आर्य र अनार्यबीच कहिले राम्रो, कहिले नराम्रो सम्बन्ध भएको ऐतिहासिक तथ्यलाई मूल शब्द सब बाट विकृत शब्द शव, शुभले प्रतिबिम्बित गर्दछन् ।
ईस्वीपूर्व करिव १५०० पछि आर्य सप्तसिन्धु तथा भारतभूमिमा प्रवेश गरे । यिनीहरु भारतमा प्रवेश गर्ने क्रममा पूर्व सिन्ध नदीको किनारमा त्यसबेला किरात असुरहरूको समृद्धशाली राज्य स्थापित भइसकेको थियो । एकताका त्यहाँ साम्बा नामका एक प्रभावशाली किरात–असुर राजा थिए ।6 उनलाई पछि आर्यहरूले लडाईमा पराजित गरे । युद्धमा पराजित भएपछि किरात–असुर त्यहाँबाट पूर्वतिर आए र किन्नर राज्य स्थापना गरे ।7 जसलाई आजकल भारतको हिमाञ्चल प्रदेश भनिन्छ । यो प्रदेश नेपालको पश्चिममा पर्दछ । देवासुर संग्रामको बेला त्यहाँ उत्तरबाट आएका मंगोल नश्लको व्यापक प्रवेश भयो र किरातका पुर्खा असुर, दास, मरुत आदि जातिसित रक्तमिश्रण भयो र त्यसबाट एक विशाल किरात नश्लको विकास र उदय भयो ।8 किरात त्यसपछि पूर्वतर्फ लागे र नेपालमा बसोबास गरे ।9 यसबारेमा इतिहासकार नारदमुनि थुलुङ वेदलाई उधृत गर्दै भन्नुहुन्छ– ऋचा २।१३।६ मा “यः शतं शम्बरस्य विभेदाश्मनेव पूर्वीः” सय नगर नष्ट गरेको देखिन्छ । त्यसबेला साम्बा/शम्बर र नमुचिको एकसय नगर विनास भए । इन्द्रसंग पराजित भएपछि साम्बा/शम्बर मैदान क्षेत्र छाडेर पहाडी क्षेत्रमा लुके । पुनः राज्यप्राप्तीको लागि उनले ४० वर्षसम्म इन्द्रविरुद्ध निरन्तर छापामार युद्ध गरे । पर्सिया, अरबपछि देवासुर संग्रामको पछिल्लो भाग सप्तसिन्धुमा भएको इतिहासकार थुलुङको भनाई छ ।10 यतिञ्जेल मरुत, असुर, दास, दस्यु नामले चिनिने जाति सप्तसिन्धुमा देवासुर संग्रामको क्रममा मंगोल नश्लमिश्रण भएपश्चात् एक संगठित किरात नश्लमा रुपान्तरित भएर हिमालय (नेपाल) पसेको इतिहासले देखाउँछ । यसरी नेपालको पश्चिम तथा दक्षिण दिशाबाट त्यसैबेला किरात प्रवेश गर्ने क्रममा प्राचीन सब, सबा, तथा साम्बा शब्द प्रवेश भएको देखिन्छ ।

Figure 1: Tibeto-Burman People Migration and Colonization (George van Driem, 2005)
Figure 2: South Asian Language Families (Ethnologue, 2019)

माथि उल्लेखित ऐतिहासिक तथ्यलाई हालका वैज्ञानिक अध्ययन र अनुसन्धानले पनि सारभूत रुपमा समर्थन गरेका छन् । पुरातत्व, आनुवंशिकी, इतिहास र भाषाविज्ञानको आधारमा चिनीयाँ–तिब्बती तथा तिब्बती–बर्मेली भाषा परिवारको बृहद् अध्ययन भएको छ । उक्त अध्ययनको आधारमा नवपाषाण काल (ईस्वीपूर्व २५००–१७००) मा चीनको सिंचुवानबाट भोट–बर्मेली भाषापरिवार बोल्ने जनसमूह सप्तसिन्धु हुँदै नेपालको पश्चिम दिशाबाट मैदान हुँदै हिमालय क्षेत्र (नेपालमा) प्रवेश गर्यो । अर्को भोट–बर्मेली भाषा बोल्ने जनसमूह नवपाणाण काल (ईस्वीपूर्व ३९००–१८००) मा ब्रम्हपूत्र सिक्किम आसाम हुँदै नेपालको उत्तर दिशा र पूर्वी दिशाबाट हिमालय (नेपाल) प्रवेश गरेको देखिन्छ ।11 भाषासम्बन्धी तथ्यांक राख्ने एक संस्था Ethnologue: Language of the World ले पनि भारतीय उपमहाद्विपमा बोलिने विभिन्न भाषापरिवारको नक्सा देखाएको छ जसमा हिमालय भूभागमा भोट–बर्मेली भाषापरिवारको स्पष्ट उपस्थिति चित्रित छ ।12 यसरी पहिलो चित्रलाई दोस्रो चित्रले समर्थन गरेको देखिन्छ ।
मुन्धुमतिर फर्कदा ‘सबा साम्माङ’ लाई लिन सकिन्छ । यो मुन्धुमले सबा (बाँदर) लाई देव (साम्माङ) मानेको छ । यिनी किरात लिम्बूका एक पितृदेव हुन् । यही ‘सबा’ साम्माङबाट कालान्तरमा लिम्बूको विभिन्न विभिन्न थर बनेको छ भनेर मुन्धुमका ज्ञाताले बताएका छन् ।13 यसर्थ, यो सबाबाट विकृत भएर सुब्बा हुने बलियो संभावना छ । अर्को कुरा यो सबा साम्माङ मुन्धुममा वर्णित कोकोह माङ बराह, तम्बर खोला र साँबाको तुङ्दुङ्गे मुन्धुमका पितृदेवका यात्रापथमा समानता देखिन्छ ।14 यी दुवै मुन्धुममा विविध सारमध्ये ‘सब’ मूल शब्दबाट विकृत भएर साँबा, साम्बा, सुब्बा बन्ने आधार मुन्धुमका ज्ञाताले प्रकट गरेका छन् । यसैले पितृदेव सब, सबा मूल शब्दबाट सुब्बा बन्ने बाटो खुला देखिएको छ, किनभने यिनीहरु सबै आदरार्थी र शक्तिशाली शब्द हुन् । यसर्थ, पितृदेव र शक्तिसित सुब्बा सम्बन्धित छ ।
निष्कर्ष– मुन्धुमी तथा ऐतिहासक आधारमा ‘सुब्बा’ शब्द याक्थुङ लिम्बूको एक प्राचीन र मौलिक निशानी हो । पृथ्वीनारायण शाह भन्दा धेरै अघिको यो एक प्राचीन शब्दावली हो । यो शब्दले महाकिरातकालदेखि चलेको परम्परागत सामाजिक नेतृत्व जनाउँछ । यो शब्दलाई नेपाली भाषाले राम्ररी चिनेको छ, माया र सम्मान पनि गरेको छ । तर त्यसो भन्दैमा यो नेपाली भाषाको सन्तान नभएर महाकिरातकै सन्तान, नाशो, र सम्पदा हो । यो शब्दको रचनागर्भ बुझ्न नसकेर सोझासाझा आदिवासीमा जुन भ्रम फैलाइएको छ, त्यसप्रति हामी सचेत हुन जरुरी छ । अनावश्यक हुइँया फैलाएर आपसमा फूट ल्याएर राज गर्न खोज्ने टाठाबाठाका कालाकर्तूत चिर्ने बेला आएको छ । हामी चाहे लिम्बू होस् वा लिम्बु, सुब्बा होस् वा याक्थूङ्बा होस् हामीलाई अक्षर वा शब्द देखाएर विभाजन गर्ने होइन कि सदभावनायुक्त एकताको डोरी कसरी मजबूत बनाउने हो त्यतातिर  पो लाग्नुपर्दछ ।
References
[1] Gustavsson, Limda. “Religion and Identity Policics in the Indian Himalayas: Religion Change and Identity Construction Among the Limboos of Sikkim.” University of Oslo, Norway, 2013. http://urn.nb.no/URN:NBN:no-42264.
[2] Chemjong, Iman Singh. Kiratkalin Bijayapurko Itihas. 1st ed. Kathmandu: Tribhuvan University, Kirat Language and Literature, 1973.
[3] [9] Chemjong, Iman Sing. Hisrory and Culture of the Kirat People. Edited by Kirat Yakthung Chumlung Lalitpur. 4th ed. Lalitpur: Kirat Yakthung Chumlung Lalitpur, 2003.
[4] [14] Chongbang Samba, Buddhi Prasad. Chongbang Samba Bangsawali. 1st ed. Taplejung: Bangsawali Sankalan Samiti, Nepal, 2009.
[5] [10] Thulung, Narad Muni. Kiratko Nalibeli. 1st ed. Biratnagar: Angur Kandangwa, Biratnagar, 1985.
[6] Nahar, Ratibhanu Singh. Prachin Bharatka Rajnitik Avam Sanskritik Itihas. Digital Library of India Item, 1956.
[7] Sankritiyan, Rahul. Kumaon, 1951.
[8] Chemjong, Iman Singh. “The Origin of Thakuri.” Journal of the Tribhuwan University, 1961, 56.
[11] VanDriem, George. “Tibeto-Burman vs. Indo-Chinese: Implications for Population Geneticists, Archaeologists and Prehistorians.” In The Peopling of East Asia: Putting Together the Archaeology, Linguistics and Genetics, edited by Sagart Laurent, Blench Roger, and Sanchez_Mazas Alicia, 81–106. London, UK: Routledge Curzon, 2005.
[12] David, Eberhard, Gary Simons, and Charles Fenning. “Ethnologue: Languages of the World.” SIL International. Online version, 2019. http://www.ethnologue.com.
[13] Subba, Jash Raj. The Philosophy and Concepts of Yuma Samyo Tradition. Sukhim Yakthung Mundhum Saplopa, 2005. https://www.facebook.com/notes/limboos-around-the-world/.

Comments are closed.