अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर

अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर

डा. नवराज सुब्बाको व्यक्तित्व तथा कृतीत्व उपर गरिएको शोध, समालोचना तथा समीक्षाको निष्कर्ष तथा सारसंक्षेप

१. कृति : अध्ययनको आलोकमा बीच बाटोमा ब्यूँझेर
लेखक : डा. कृष्णप्रसाद दाहाल
विधा : समालोचना
प्रथम संस्करण : २०६७
Preview/Download

‘बीच बोटोमा ब्यूँझेर’ काव्यकृतिको मूल्याङ्कन

कवि नवराज सुब्बाको ‘बीच बाटोमा ब्यूँझेर’ काव्यकृति स्वच्छन्दतावादी, प्रगतिवादी र मानवतावादी विषयको त्रिवेणी हो । कविले यसमा स्वच्छन्दतावादी भावधाराबाट आपूmले प्रत्यक्ष देखेका र भोगेका विषयलाई सजाएका छन् । राष्ट्र, राष्ट्रियता र देशभक्तिको भावनाले यो कृति उचालिएको छ । आफू जन्मेको गाउँको मात्रै होइन आफूलाई जन्म दिने ममतामयी माताप्रति कवि छताछुल्ल भएर पोखिएका छन् । आफ्ना भाइप्रति, ससुराप्रति मात्रै होइन सतार र राउटेप्रति पनि कवि सुब्बा त्यतिकै मानवीय भावले प्रस्तुत भएका छन् । प्रेम, माया र करुणाका विषयलाई पनि यहाँ सजाइएको छ । नारी संवेदनाका विषयहरूमा कवि बढी द्रवीभूत भएका छन् । नारी हक, हित र स्वतन्त्रताका निम्ति उनले बुलन्द आवाज उरालेका छन् । मातृशक्तिका रूपमा नारीलाई स्वीकारेर उनीहरूको सम्मान गर्नुपर्ने धारणा राखिएको छ ।
चार हरफका मुक्तकीय शैलीका कवितादेखि लिएर उनासीओटा हरफसम्मका कविताले यहाँ स्थान पाएका छन् । मूलतः २०६२/२०६३ को जनआन्दोलपछि लेखिएका कविताहरू भएका हुनाले कविले लोकतान्त्रिक मूल्य र मान्यताका कुराका साथै नयाँ नेपालको सुखद कामना गरेका छन् । आपसी कलह, द्वेष र द्वन्द्वलाई निमिट्यान्न पारेर शान्तिलाई तार्किक निष्कर्षमा पु¥याउनुपर्ने आग्रह गरेका छन् । स्वार्थी, नीचता र पछौटेपनको कविले सबैतिर विरोध जनाएका छन् । अग्रगमनको बाटो समाएर ‘सर्वजन हिताय’ र ‘सर्वजन सुखाय’ को चाहना प्रस्तुत गर्दै आध्यात्मिक चेतनातर्पm कविले आपूmलाई झुकाएका छन् । गाई र माईलाई समकक्षी राखेर वात्सल्यको महिमा गाएका छन् । यो यस कविताको विशिष्ट पक्ष हो । बालअधिकारको सम्मानतर्पm पनि कविको काव्यिकचेतना मौलाएको छ । राष्ट्र, राष्ट्रियता र मानव हक, हित विरुद्धका जति पनि गाली–सरापहरू छन् तिनीहरूलाई बीच बाटोमा ब्यूँझेर बगाऔं भन्ने सन्देश दिनु नै यस कवितासङ्ग्रहको विशेषता हो । यही विशेषताले यस कृतिले उच्चता प्राप्त गरेको छ ।

कवि नवराज सुब्बाको ‘बीच बाटोमा व्यूँझेर’ काव्यकृतिको मूल्याङ्कन प्रा. बालकृष्ण पोखरेलले यसरी गरेका छन् ः “कवि सुब्बाका अर्थवह, प्रतीकवह र भावोद्वेलक कृतिहरू आजको अस्मिताबोधक उमेरगत, इलाकागत, वर्गगत, धर्मगत, स्तरगत एवम् लिङ्गगत बहीखाताका आकर्षण नमूना बनेका छन् ।” वर्तमानलाई कवि सुब्बाले जस्ताको तस्तै काव्यात्मक बान्कीद्वारा प्रस्तुत गरेका छन् । प्रतीक र बिम्बविधानको सही किसिमले आयोजना गरिएको हुनाले कृति उत्कृष्ट बन्न पुगेको छ । मूलतः देशभित्रको विविध विषयलाई कविले यहा“ पस्किएका छन् : “वि.स. २०६३ सालमा रचना गरिएका कविताहरूको प्रस्तुत सङ्गालो, बीच बाटोमा ब्यूँझेर तपाईको हातमा छ । यसभित्रका कविताहरू झापा, मोरङ, काठमाडौं, नदी लुक्ने सहर पोखरा, बुद्ध जन्मेहुर्केका जिल्ला रूपन्देही, कपिलवस्तु अर्थात् नेपालभित्रै रहेर बसेर लेखिएका हुन् र मेरा सिर्जनाहरू आजको समयले अनुभव गरेका आºनो देशभित्रैका विषयवस्तुमा केन्द्रित छन् ।” देशको अभिलेख हो ‘बीच बाटोमा ब्यू“झेर’ ।नेपाली भूगोल र नेपाली जातिलाई यहाँ चिनाइएको छ । देशले ऐतिहासिक मोड लिएको समय त्रिसट्ठी सालले नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न तुल्यायो । यसैलाई कविले यस सङ्ग्रहको भूगोल बनाएका छन् । नेपाल देश र नेपाली जातिप्रति कविले यहाँ औधी माया प्रकट गरेका छन् । नवराजका कविताहरूको मूल्याङ्कन गर्दै डा. गोविन्दराज भट्टराईले आफ्ना अभिमत यसरी राखेका छन् ः “नवराजका कविता सीमान्तीकृत, मार्जिनल जीवनका हुन् । छेलिएका, दुःखी, कुष्ठरोगी, अपहेलित र निन्दितका आवाज हुन् , सहअस्तित्वबोधका कविता ।” सतारको सम्बोधन, राउटेको मन, अगेनामा, कुष्ठरोगी † बस मेरो कवितामा कविले नेपाली जनताको यथार्थलाई सम्बोधन गरेका छन् । पिछडिएका असहाय, दीन, हीन नेपालीको पीडालाई सहज र सरल ढङ्गले लिपिबद्ध गरिएको छ । यिनै विशेषताका उचाइबाट नवराजका कविताहरू उचालिएका छन् । मानवीय मनोविज्ञानलाई उनी राम्ररी समाएर कविता लेख्न सक्छन् । यसको उदाहरणको रूपमा ‘अर्थहीन पीडा र खुसीहरू’ कवितालाई लिन सकिन्छ । आपूm समाजशास्त्र, मानवशास्त्र र जनस्वास्थ्यको विद्यार्थी हुनुको नाताले समेत कविले त्यससम्बन्धी विषयहरूलाई कवितामा सतर्कताका साथ सजाएका छन् । यस सम्बन्धमा उनी भन्छन् ः “समाजशास्त्र र जनस्वास्थ जुन मेरो कर्मक्षेत्र हो, यसमा विद्यमान समसामयिक प्रश्नहरूलाई पनि साहित्यमा प्रविष्ट गराएको छु । साहित्यलाई सबैको सरोकारको विषय बनाउने प्रयत्न गरेको छु ।” नवराज कविता कोरा कल्पनाका उपज होइनन् । यथार्थका काजु, किसमिस मसला हुन् । उनी अनावश्यक कल्पनाको पछि नदौडिकन यथार्थमा देखेका र भोगेका विषयलाई काव्यात्मक लालिमाद्वारा प्रस्तुत गर्दछन् । शान्त, सरल र गम्भीर किसिमबाट कुनै पनि विकृति र विसङ्गतिको भण्डाफोर गर्न सिपालु छन् । यसलाई पनि उनको काव्यिक लेखनको महत्वपूर्ण पाटो मान्नु पर्दछ ।

निष्कर्ष
‘जीवन मेरो शब्दकोशमा’ (२०६३) कविता सङ्ग्रहबाट चर्चाको शृङ्खलामा देखापरेका कवि नवराज सुब्बा नेपालीका राम्रा आशालाग्दा प्रतिभा हुन् । उनले कविहरूको भीडमा एउटा छुट्टै पहिचान बनाइसकेका छन् । अग्रपुस्ता र आफ्ना पुस्ताका लेखनबाट प्रभाव ग्रहण गर्दै नौलो काव्यिक मात्रा तय गरिसकेका छन् । यसको जल्दोबल्दो प्रस्तुति नै ‘बीच बाटोमा ब्यूँझेर’ हो । ‘बीच बाटोमा ब्यूँझेर’ काव्यकृतिसम्ममा आइपुग्दा नै उनले निकै नै प्रौढता र परिपक्कता हासिल गरेको अनुभूति हुन्छ । विषयको विविधताका साथसाथै शैलीको नवीनता यहाँ प्राप्त गर्न सकिन्छ । वास्तवमा भन्ने हो भने यो कृति उनकै जीवनभोगाइको ऐना हो । घर, समाज र राष्ट्रका प्रति उनले जे–जे कार्यहरू गर्दै गए ती–ती कुरालाई अनुभवका आधारमा संयोजन गरेका छन् । जस्तो अनुभव गरे वा देखे, त्यसैलाई मात्रै उनले स्थान दिएका छन् । अपत्यारिला वा सस्तो लोकप्रियताको पछि नलागीकन यथार्थको पोयो बाट्न उनी मन पराउ“छन् । कवि सुब्बा सहरलाई भन्दा गाउ“लाई मन पराउँछन् । गाउँको प्राकृतिक सुन्दरताले उनलाई धेरै नै आकर्षिक पारेका छ ।
कवि नवराज सुब्बाले ‘बीच बाटोमा ब्यूँझेर’ कवितासङ्ग्रहभित्र विषयवस्तुअनुसारको भाषा–शैलीको प्रयोग गरेका छन् । ग्रामीण परिवेशका कुरा गर्दा त्यहाँकै स्थानीय शब्दलाई ग्रहण गर्दछन् भने सहरी सभ्यताको विषयलाई प्रस्ट्याउँदा भने सो अनुसारकै पारिभाषिक प्राविधिक शब्दहरूको उचित प्रयोग गर्दछन् । कवितामा विषयवस्तु पस्किएर मात्रै हुँदैन त्यसलाई नयाँ–नयाँ बिम्ब र प्रतीकका माध्यमबाट व्यक्त्याउनु पर्दछ । यो कार्य कवि नवराजले गरेका छन् । कविले महाभारतीय बिम्बदेखि लिएर अहिलेको अत्याधुनिक जीवनजगत्का बिम्ब र प्रतीकहरू उधिनेका छन् । उनी सबै किसिमका बिम्ब र प्रतीकहरूको आयोजना गर्न सफल भएका छन् । कसैले देख्न र समाउन नसकेका विम्व र प्रतीकहरू उनले यहाँ सजाएका छन् । मातृवात्सल्यका कुरादेखि लिएर होस् वा गाली सराप बगाउने कुरामा होस् उनले सामान्यजस्ता लाग्ने बिम्बलाई पनि सशक्त गराएका छन् । आलङ्कारिकता र सङ्गीतात्मकताले कवितालाई सुष्टुचुम्मित गराउँछन् । वृत्यानुप्रास, अन्त्यानुप्रास अलङ्कारको प्रयोग गरेर कविले यस सङ्ग्रहभित्रका कविताहरूलाई बढीभन्दा बढी लयदार गराएका छन् । तत्सम, तद्भव र मौलिक शब्दहरूको मात्रै होइन आगन्तुक शब्दहरूको संयोजन गर्न कन्जुस्याँई गरेका छैनन् । सबैभन्दा ठूलो विशेषता यो सङ्ग्रहको कुन हो भनेर भन्नुपर्दा त्यो हो सरलता । कविले सकेसम्म सरल शब्दका माध्यमबाट गहन विषयहरूको आयोजना गरेका छन् । नबुझिने र पट्यार लाग्ने शब्द यहाँ कतै पनि छैनन् । सरल वाक्यगठनद्वारा कवितात्मक हरफहरू निर्मित छन् । निपात र उखान टुक्काका प्रयोगले सुनमा सुगन्ध थपेका छन् । यिनै कुराहरूको समष्टि रूपनै ‘बीच बाटोमा ब्यूँझेर’ हो ।

Comments are closed.