मनको मझेरी कृतीको अध्ययन

मनको मझेरी कृतीको अध्ययन

Review of Manko Majheri by Gita Dhakal

३. कृति : नवराज सुब्बाको ‘मनको मझेरी’ कृतीको अध्ययन
लेखक : गीता ढकाल
विधा : अनुसन्धान
प्रकाशन : १) शोध निर्देशक : डा. खेमनाथ दाहाल, सह–प्राध्यापक २) विभागीय प्रमुखः प्रा.डा. टङ्कप्रसाद न्यौपाने ३) प्रा.डा. गोपाल भण्डारी, ४) डा.भोलानाथ पोख्रेल, ५) चन्द्रमणि अधिकारी, उप–प्राध्यापक
६) दीपक न्यौपाने, ७) गोपीकृष्ण खतिवडा, ८) सुभाष न्यौपाने, ९) दीपक पराजुली । Preview/Download

सुब्बाका प्रकाशित निबन्धहरूको समीक्षा र निष्कर्ष

निबन्धकार नवराज सुब्बाको ‘मनको मझेरी’ निबन्धसङ्ग्रह २०६४ सालमा प्रकाशित भएको देखिन्छ । यस सङ्ग्रहमा जम्मा बीसवटा निबन्ध सङ्गृहीत छन् जसमा सबै निबन्ध एकै प्रकारका रचना मानिएका छन् । प्रस्तुत सङ्ग्रहका सम्पूर्ण पाठलाई शोधमा ग्रहण गरिएको छ ।
शोधनायकको प्रथम निबन्ध ‘नयाँ नेपालको चित्र’ भन्ने पाठ हो । प्रस्तुत निबन्धमा विराटनगर जेसिजले आयोजना गरेको कार्यक्रमलाई केन्द्रबिन्दु बनाई नयाँ नेपालको चित्रण गरिएको छ । निबन्धमा अपाङ्ग बालबालिकाहरूलाई विभिन्न संघ संस्थाले प्रोत्साहित गरी आफ्नो कला प्रदर्शन गर्न लगाउने र उनीहरूको आन्तरिक क्षमतालाई सार्वजनिक गर्न लगाउने बाल, वृद्ध, उद्योगी व्यवसायीहरूले शुभकामना दिने तर पनि अपाङ्गहरूको समस्याचाहिँ ज्यूँका त्यूँ रहने कुराप्रति निबन्धमा असन्तोष व्यक्त गरिएको छ । यस निबन्धमा निबन्धकार सुब्बाले नवीन नेपालको परिकल्पना र अपाङ्गको शान्तिप्रति ऐक्यबद्धता रहेको देखाएका छन् । तिनको चाहना अनुरूपको सुन्दर राज्य नै नयाँ नेपाल हो भन्ने विचार पनि निबन्धमा व्यक्त गरेका छन् । अशक्त अपाङ्गहरूले पनि स्वाभिमानका साथ बाँच्न पाउनुपर्छ र उनीहरूलाई माया र स्नेहभन्दा पनि अधिकार दिनुपर्छ भन्ने सुब्बाको दृष्टिकोण यस निबन्धमा व्यक्त भएको छ । यस निबन्धको शैली वस्तुपरक छ भने शिल्प वा ढाँचालाई वर्णनात्मक नियात्रामूलक मान्न सकिन्छ । यस निबन्धमा समृद्धशाली मान्छेहरू भन्दा यी विकलाङ्ग केटाकेटीहरू राष्ट्रप्रति चिन्तित भएको कुरा यिनका चित्रकलाले देखाएका छन् । यो निबन्ध तीन पृष्ठसम्म विस्तारित छ ।

दोस्रो निबन्धका रूपमा ‘तस्बिरमा पोखिएका कविताहरू’ शीर्षक रहेको देखिन्छ । निबन्धमा तस्बिरलाई केन्द्रबिन्दु बनाएर तस्बिर पनि साहित्य हो, तस्बिरले जीवनजगतको चित्रण गर्दछ भन्ने कुरालाई विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ । निबन्धमा स्वयम् निबन्धकार भन्छन् ‘तस्बिर एउटा कविताजस्तै मीठो र महाकाव्यजस्तै गहन हुन सक्छ ।’ जति हेरे पनि हेरिरहूँ लाग्ने पर्खालमा टाँसे पनि कसैलाई नबिझाउने र आकर्षक हुन्छ । निबन्धमा सुब्बाले काठमाडौँको आर्ट ग्यालरीमा ‘लडाइँमा जनता’ नामक फोटो प्रदर्शनी हेरेको कुरालाई केन्द्रबिन्दुमा राखेर दशबर्से जनयुद्धमा मारिएका बालक, युवा, वृद्धहरूको तस्बिर नै उनको निबन्धको विषय बनेको पाइएको छ । यस निबन्धको शैली वस्तुपरक छ भने शिल्प वा ढाँचालाई वर्णनात्मक वा विवरणप्रधान मान्न सकिन्छ साथै विचारतत्व राम्रो मान्न सकिन्छ । यो निबन्ध चार पृष्ठसम्म विस्तारित भएको देखिन्छ । यी दुवै निबन्धहरू प्रदर्शनीसँग आबद्ध छन् र यिनका विषय चित्रकलासँग जोडिएका छन् । यिनमा फरक देखिने विषय भने निबन्धकारको स्थान हो, तिनमा पहिलो निबन्धभित्र उनी प्रमुख अतिथि छन् र दोस्रो निबन्धमा उनी दर्शक मात्रै हुन् ।
शोधनायकको तेस्रो निबन्धको रूपमा ‘श्रद्धाञ्जली एउटा लिम्बूनीलाई’ रहेको छ । प्रस्तुत निबन्ध संस्मरणात्मक निबन्ध हो । यो निबन्ध सामाजिक विषय र गाउँले परिवेशलाई आधार बनाएर लेखिएको छोटो निबन्ध हो । निबन्धमा निबन्धकारले आफू सानो छँदा गाउँमा पढ्दाको स्कुल नजिक तलतिर रहेकी एउटी एक्ली अर्धबैंसे लिम्बूनीलाई विषयवस्तु बनाएका छन् । ती लिम्बूनी कठोर र निर्दयी छिन् । विद्यालयमा गोल खेल्दा उनको जग्गामा पुग्दा बाली बिगारिदिँदा त्यही आक्रोशमा कतिवटा भकुन्डाहरू फुटाइदिएकी छिन् । निबन्धकार सानो छँदा आमासित त्यहाँ जाने गरेको र उनका घरमा अनेकौं फलफूल पाइने गरेको तथा यिनले बनाएर उनले दिने गरेको, कहिले सब्जी फलफूल घरमै पठाइदिने स्वभाव भएकी ती साहिँलीबोजू २०३७ सालमा निबन्धकार हाङपाङ हेल्थपोष्टमा इन्चार्ज भएर जाँदा निकै बूढी भइसकेकी थिइन् । उनी बिरामी भएर हेल्थपोष्ट आउँदा निबन्धकारले जाँच गरी औषधी दिएको र केही वर्षपछि बढो कष्टपूर्ण ढङ्गले मृत्यु भएको कुरा निबन्धमा उल्लेख हुन आएको छ । यो निबन्ध चार पृष्ठसम्म फैलिएको छ । यसको विचारतत्व आफ्नो जन्मस्थानलाई प्रेम गर्नुपर्छ सँग जोडिएको छ । यो निबन्धको शैली संस्मरणप्रधान छ भने शिल्पलई उन्नत तहको मान्न सकिन्छ ।
शोधनायकको चौथो निबन्धको रूपमा ‘आमाका रूपहरू’ रहेको देखिन्छ । गाउँले नारी जीवनलाई विषय बनाई लेखिएको छोटो आयामको निबन्ध हो । यस निबन्धमा एउटी पीडित भरिया भोटेनीले पिठ्यूँमा भारी बोक्दै बजार गइरहेको र बालकले पछ्याउँदै गरेको अवस्थालाई विषयवस्तु बनाइएको छ । ती भोटेनी महिलाको सहनशीलताको प्रशंसा पनि गरिएको छ । आमाहरू सहनशील हुँदारहेछन् भनिएको छ । म पनि बच्चामा त्यस्तै थिएँ होला भन्दै निबन्धकारले धारामा पानी लिन जाँदा गाग्रीसँग आफूलाई पनि आमाले बोक्दा आफू पनि निर्दयी भएको स्मृति निबन्धमा प्रस्तुत गरेका छन् । आफ्नी आमाले गरेको मायाको सम्झना गर्दै निबन्धकारले स्वभावैले महिलाको ह्ृदय अति नै दयालु र कोमल हुने कुरा निबन्धमा उल्लेख गरेका छन् । यो निबन्ध दुई पृष्ठसम्मात्र फैलिएको छ । यस निबन्धको विचारतत्व सबल मान्न सकिन्छ । यसको शैली आत्मपरक छ भने शिल्प वा ढाँचालाई लेखकको स्मरणमा आएका घटना प्रसङ्गले गर्दा वर्णनात्मक तथा घटनाप्रधान मान्न सकिन्छ । मिल्ने विषयभित्र दुवै निबन्धमा निबन्धका केन्द्रीय वस्तु नारीहरू रहेका छन् र यिनमा पाइने भिन्नता भनेको अविवाहित महिलाको कडा स्वभाव र विवाहित आमाको शान्त स्वभावको चित्रणलाई लिन सकिन्छ ।
नवराज सुब्बाको अर्को निबन्ध ‘तरकारी बेच्ने महिला’ रहेको छ । संस्मरणात्मक ढाँचा वा शैलीमा लेखिएको यो निबन्धमा तरकारी बेचेर जीवन निर्वाह गर्ने महिलाको जीवनचर्यालाई विषयवस्तु बनाइएको छ । तरकारी हाम्रो दैनिक खानामा प्रयोग हुने पौष्टिक खाद्य हो । यो हाम्रो लागि अति आवश्यक छ तैपनि मानिसहरू दलाली गर्छन् । सानो पेशा गरेर घरघरमा तरकारी डुलाउँदै ल्याउने महिलामाथि हामीले दया राख्नुपर्छ भने विचार यस पाठमा पोखिएको छ जसले गर्दा विचारतत्व राम्रो मान्न सकिन्छ । निबन्धकारले विराटनगरका गल्लीमा तरकारी डुलाउँदै बेच्न हिँडिरहेकी महिलासँग आफ्नी श्रीमतीले सुरुसुरुमा दलाली गरेको र पछि ‘बाल समाज नेपाल’ नामक तरकारी व्यवसायीहरूको ‘आत्मकथा’को पुस्तक पढेपछि एक्कासि परिवर्तन आएको कुरा स्मरण गरिएको छ । यस निबन्धमा लेखकले तरकारी बेच्ने महिलाले घरघरमा डुलाउँदै यात्रा गरेको बेला भोगेका कुराहरू संस्मरणात्मक शैलीमा प्रस्तुत गरेका छन् । यो निबन्ध दुई पृष्ठसम्म विस्तारित छ । यो निबन्ध प्रथमपुरुष शैलीमा देखिए पनि विषय अर्काकै प्रधान विषय हो । शोधनायकको अर्को निबन्ध ‘हाक्पारे सङ्गीत’ रहेको छ । यस निबन्धमा निबन्धकारले सामाजिक, सांस्कृतिक परम्परासँग सम्बन्धित विषयलाई लिएका छन् । उनले सङ्गीतको वर्णन गर्दै लेखिएको यो निबन्धमा गीत, सङ्गीत, कला, साहित्य समाजका अमूल्य सम्पत्ति हुन् भनिन्छ । यिनीहरूको जगेर्ना गर्नुपर्छ भन्ने मान्यता अघि सारेका छन् । निबन्धकार पनि गीतसङ्गीतप्रति विशेष रुचि राख्ने व्यक्ति भएको हुनाले विशेषतः लिम्बू समुदायको हाक्पारे सङ्गीतबारे यस निबन्धमा वर्णन गरेका छन् । प्रस्तुत निबन्ध तीन पृष्ठसम्म फैलिएको छ । यसको शैली आत्मपरक छ भने शिल्प वा ढाँचा वर्णनप्रधान मान्न सकिन्छ । यी दुई निबन्धहरू पेशासँग सम्बन्धित छन् र अर्कोचाहिँ गीतसङ्गीतसँग आबद्ध छ ।
लेखकको अर्को निबन्ध ‘गीतसङ्गीतभित्र देश र जीवन खोज्दै’ रहेको देखिन्छ । प्रस्तुत निबन्ध वर्णनात्मक शैलीमा लेखिएको छ । सामाजिक विषयवस्तुमा आधारित प्रस्तुत निबन्धमा पनि निबन्धकार सुब्बाले सङ्गीतकै चर्चा गरेका छन् । जीवनलाई आनन्द दिने एउटा वस्तु सङ्गीत भएको चर्चा गर्दै उनले कला, साहित्य, सङ्गीत, सर्जक र स्रोता दुवैलाई आनन्द दिने वस्तु ठानेका छन् । २०६४ असार २३ गते विराटनगरको विराटकला मन्दिरमा भएको साङ्गीतिक कार्यक्रमको स्मरण गर्दै त्यस कार्यक्रममा प्रस्तुत गीतसङ्गीतले माया प्रीतिका कुरा, सुरा सुन्दरीको बयान र सिद्धान्तका नारा झल्काउने मात्र होइन जीवन र जगत्को उज्ज्वलतातिर सकारात्मक सोच, सद्भाव र समावेशी मान्यताको समृद्धि गराउने काम पनि गरेको कुरामा निबन्धकार विश्वस्त बनेका छन् । शैली स्मरणप्रधान छ भने शिल्प वा ढाँचा वर्णनप्रधान मान्न सकिन्छ । यस निबन्धको विचारतत्व सङ्गीततर्फको झुकाउ हो ।
लेखकको अर्को निबन्ध ‘जन्तरे सरको टक्करी ट्वाक’ रहेको छ । प्रस्तुत निबन्ध संस्मरणात्मक निबन्ध हो । प्रस्तुत निबन्ध सामाजिक विषयवस्तुमा आधारित छ । यस निबन्धमा निबन्धकार सुब्बाले आफ्नो बाल्यकालको स्मरण गर्दै स्कुलमा पढ्दाको कुरालाई विषय बनाएका छन् । स्कुलमा पढ्दा सरले ठूलो भएर धनी हुने कि गरिब भन्दा आफूले चाहिँ गरिब हुने जवाफ दिएको कुरालाई सम्झँदै धनी मानिस खराब हुन्छन्, जाली हुन्छन् भन्दै आफू गरिबको पक्षमा रहेको निबन्धकारले बताएका छन् । सुब्बालाई गरिबको पक्षमा नै उभिएर केही गर्न बोल्न र लेख्नमा आनन्द लाग्ने पनि अनुभव गरेका छन् । सुब्बालाई सरले त्यसबेला हानेको टक्करी अझै पनि सम्झनामा छ, दुई पृष्ठसम्म फैलिएको निबन्धको छोटो आकार देखिन्छ, संस्मरणात्मक शैलीमा प्रस्तुत भएको यो निबन्ध शिल्प वा ढाँचालाई हेर्दा स्मरणमा आएको घटनाप्रसङ्गले वर्णनात्मक मान्न सकिन्छ । अनुकूल पात्रको सम्झना यसको विचारतत्व हो ।
शोधनायकको अर्को निबन्ध ‘ती एकजोडी परेवा’ रहेको छ । प्रस्तुत निबन्ध संस्मरणात्मक शैलीमा लेखिएको छ । धार्मिक, आध्यात्मिक विषयवस्तु समेटिएको यो निबन्धमा निबन्धकार सुब्बाले आफूले जागिर खानेक्रममा खोटाङमा भएका बेला घरमा कान्छो छोरो बिरामी भएपछि सुब्बाकी श्रीमतीले भाकल गरेको कुरा स्मरण गरेका छन् । खासगरी धर्मका नाममा पुजारीहरूबाट गरिएको विकृत व्यवहारको कुरालाई पनि यहाँ देखाउन खोजिएको छ । निबन्धकार दसैँका बेला घर जाँदा परेवा लिएर मन्दिरमा गएका, त्यहाँ भएका पूजामा पशुपन्छीको काटमार भएको रास देख्दा ती निरीह जीवको बलि चढाएर पुण्य प्राप्ति नहुने अनुभव गरेको कुरा निबन्धमा प्रकट गरेकाले विचारतत्व आलोचनात्मक छ । तीन पृष्ठसम्म फैलिएको यो निबन्ध शैली संस्मरणात्मक छ भने शिल्प वा ढाँचालाई वस्तुपरक मान्न सकिन्छ । माथिका अन्य निबन्धमा भन्दा यस निबन्धमा विचारको प्रवाह प्रबल देखिन्छ, किनभने धर्मका नाममा विकृति हुनु नराम्रो कुरा हो जसको आलोचना निबन्धकारले झैँ हामीले पनि गर्नुपर्छ ।
शोधनायकको अर्को निबन्ध ‘धन्यवाद धरावासी’ रहेको छ । प्रस्तुत निबन्ध वर्णनप्रधान, संस्मरणप्रधान तथा प्रशंसाप्रधान निबन्धको रूपमा रहेको पाइन्छ । पारिवारिक विषयवस्तु भएको यस निबन्धमा २०४५ सालको भूकम्पको प्रसङ्गलाई निबन्धमा विषय बनाइएको छ । निबन्धकार सुब्बाले २०४५ साल भाद्र महिनाको भूकम्पलाई निबन्धको केन्द्रबिन्दु बनाएका छन । भूकम्प गएप्छि धमाधम धनजनको क्षतिका समाचारहरू आउन थाले । निबन्धकारले भने कृष्ण धरावासीको ‘बालक हराएको सूचना’ हेर्न पाए त्यसबेला उनलाई घरमा छोडिएका बालक र परिवारको सम्झना आयो अनि उनले सम्झे चाहिएको बेला अभिभावकत्व दिन नसक्ने बुबा, माया दिन नसक्ने पतिको भर छैन । यहाँ रुस पढ्न नजाने अठोट गरेका कुराको वर्णन गरेका छन् । यसको शैली प्रस्तुतीकरण संस्मरणप्रधान छ भने ढाँचाको प्रवाह वर्णनप्रधान, प्रशंसाप्रधान मान्न सकिन्छ । विचारतत्वमा राम्रो सेवा गर्ने साहित्यकार प्रशंसा गर्न लायक छन् भन्ने हो । यो तीन पृष्ठसम्म फैलिएको छ ।
शोधनायकको अर्को निबन्ध ‘जदौ दाहाल यज्ञनिधि’ रहेको छ । प्रस्तुत निबन्ध वस्तुपरक शैलीमा लेखिएको छ । यस निबन्धमा रेडियो नेपालका साहित्यिक कार्यक्रमका सञ्चालक दाहाल यज्ञनिधिको प्रशंसालाई विषयवस्तु बनाइएको छ । निबन्धकार सुब्बाले आफ्नो रचना रेडियो नेपालमा पठाएको र त्यो रचना रेडियो नेपालबाट दाहालले प्रस्तुत गरेको कुरालाई स्थान प्रदान गरेका छन् । सुब्बाले दाहालजस्तै चर्चाको शिखरमा पुग्न नसके पनि साहित्य साधनाले निकै उचाइमा पु¥याउँछ भन्ने विचार व्यक्त गरेका छन् । यो निबन्ध पाँच पृष्ठसम्म फैलिएको छ । शैली संस्मरणात्मक छ भने शिल्प वा ढाँचा वस्तुपरक, प्रशंसाप्रधान र आफू परिधीय दृष्टिबिन्दुमा छन् ।
शोधनायकको अर्को निबन्ध ‘साहित्यकार इमानदार हुन्छ’ रहेको छ । प्रस्तुत निबन्ध आत्मपरक शैलीमा लेखिएको संस्मरणात्मक निबन्ध हो । समसामयिक परिवेशलाई विषय बनाई लेखिएको यो निबन्धमा साहित्यकारका बारेमा चर्चा गरिएको छ । निबन्धकार आफू पनि साहित्यकार भएको र त्यस्तै अरू साहित्यकारमा विजय, छहरा र बद्री पलिखेसँगको निबन्धकारको भेटलाई निबन्धको विषय बनाइएको छ । देशका लागि इमानदारीपूर्वक बोल्ने फुर्सद साहित्यकारलाई मात्र हुन्छ भन्दै जीवन जगत्का यावत् विषयवस्तुलाई गम्भीरतापूर्वक सोच्ने र आफ्ना भावना पोख्ने साहित्यकार नै हुन् भन्ने कुरा निबन्धमा प्रस्तुत भएका छन् । प्रस्तुत निबन्ध दुई पृष्ठसम्म फैलिएको छ र आत्मपरक शैलीमा लेखिएको छ । शिल्प वा ढाँचा वर्णनात्मक तथा वस्तुपरक मान्न सकिन्छ र साहित्यकारको प्रशंसा विचारतत्व हो, उसको सम्मान गर्ने लक्ष्य हो ।
शोधनायकको अर्को निबन्ध ‘स्रष्टाप्रति समाजको अपेक्षा’ रहेको छ । प्रस्तुत निबन्ध संस्मरणात्मक ढाँचामा लेखिएको छ । साहित्य र सिर्जना समाजका अमूल्य निधि हुन् भन्ने कुरालाई विषयवस्तु बनाइएको छ । यस निबन्धमा निबन्धकारले साहित्यलाई समाजको एउटा महत्वपूर्ण पक्ष मानेका छन् । साहित्यको प्रभाव समाज, राष्ट्र र विश्वमै परिरहेको हुन्छ । यसलाई मध्यनजर गरी साहित्यकारले साहित्य सिर्जना गर्छ तर त्यसबाट समाजले के पायो वा के अपेक्षा राख्यो, यो नै महत्वपूर्ण विषय हो भन्ने कुरा निबन्धमा प्रकाश गरिएको छ । चार पृष्ठसम्म फैलिएको यो निबन्धको शैली संस्मरणात्मक छ भने ढाँचा वा शिल्पपक्ष विचारप्रधान मान्न सकिन्छ । पुरस्कार र सम्मान भनेपछि केही प्रेरणा मिल्छ भन्ने विचार प्रबल छ ।
शोधनायकको अर्को निबन्ध ‘टेलिफोन र थुतुना’ रहेको छ । यो निबन्ध वर्णनप्रधान मान्न सकिन्छ । यो निबन्ध समसामयिक सञ्चारको साधन र मानिसको स्वभावलाई केन्द्रबिन्दु बनाई लेखिएको छ । निबन्धकारले यस निबन्धमा पढेर होइन परेर जानिन्छ भन्ने उक्तिलाई मध्यनजर गर्दै सञ्चार माध्यमको तीब्र विकाससँगसँगै विकृति पनि भित्रिएको कुरा प्रस्तुत गरेका छन् । यसको शैली आत्मपरक छ भने शिल्प वा ढाँचा वर्णनप्रधान मान्न सकिन्छ । यो निबन्धको विचारतत्व शिष्ट, सभ्य भाषाको मोह हो । यो निबन्ध तीन पृष्ठसम्म फैलिएको छ ।
शोधनायकको अर्को निबन्ध ‘पशुप्रति मानवीय संवेदनशीलता’ हो । यो निबन्ध पशुलाई विषय बनाई लेखिएको छ । पशुपक्षीमाथि मानिसले गर्ने अमानवीय व्यवहारलाई यस निबन्धमा प्रस्तुत गरिएको छ । कुनै पनि देशमा पशुपक्षीप्रति बढी निर्दयता र क्रूरता देखाइन्छ भने त्यस क्षेत्रमा बढी हत्या, हिंसा हुने गर्दछन् । यो कुरा वैज्ञानिक अध्ययनले प्रमाणित गरेको तथ्यलाई अघि सारेर यस निबन्धमा निबन्धकारले पशुप्रति हाम्रो समाजमा हुने गरेको क्रूर व्यवहारको विरोध गरेका छन् । प्रस्तुत निबन्ध आत्मपरक शैलीमा लेखिएको छ भने शिल्प वा ढाँचा वर्णनप्रधान मान्न सकिन्छ । यस निबन्धको विचारतत्व यो संसार सबैको साझा हो भन्ने हो । यो निबन्ध तीन पृष्ठसम्म फैलिएको छ ।
लेखकको अर्को निबन्ध ‘पुस्तकालय’ शीर्षकमा आएको छ । प्रस्तुत निबन्ध विवरणप्रधान मान्न सकिन्छ । यो निबन्ध झापाको चन्द्रगढीमा अवस्थित लेखनाथ पुस्तकालयमा भएको एक वार्षिक कार्यक्रमलाई विषयवस्तु बनाई लेखिएको छ । यसकै केन्द्रीयतामा त्यहाँका अन्य गतिविधिलाई पनि चिनाउने प्रयास गरिएको छ । वास्तवमा पुस्तकालय भनेको टेबल, कुर्सी र पुस्तकहरू मात्र होइनन्, राष्ट्रिय रूपमा रहेका ज्वलन्त समस्याहरू हुन् । तीन पृष्ठसम्म पैmलिएको यस निबन्धको शैली संस्मरणप्रधान मानिन्छ । शिल्प वा ढाँचा विवरणप्रधान मान्न सकिन्छ । यस निबन्धको विचारतत्व सांस्कृतिक सम्पदाको माया गर्ने भावना हो ।
शोधनायकको अर्को निबन्ध ‘बैंकक सहरमा कोइलीको स्वर’ रहेको छ । यस निबन्धलाई संस्मरणप्रधान र नियात्रामूलक मान्न सकिन्छ । निबन्धकार सुब्बा बैंककको सहरमा घुम्न गएको बेला र त्यहाँ बस्दाको अनुभूति बताउँदै बैंकक सहर अत्यन्त सुन्दर, सफा, कोलाहलविहीन भएको विषय निबन्धमा प्रकाश गरेका छन् । त्यहाँका मानिसहरू पनि धेरै सभ्य, सहयोगी भावना भएका छन् भनी उल्लेख गरिएको छ । प्रस्तुत निबन्धको ढाँचा संस्मरणप्रधान छ भने शिल्पमा गतिको एकरूपता रहन्छ । यस निबन्धको विचारतत्व प्रकृति सुन्दर छ तर मान्छेले बिगार्छ भन्ने हो ।
शोधनायकको अर्को निबन्ध ‘स्मृतिका छालहरूमा प्रधान बा’ हो । प्रस्तुत निबन्ध संस्मरणप्रधान हो । जागिर खाने सिलसिलामा तेह्रथुम जिल्लाको मोराहाङ्ग गाविसको स्वास्थ्यचौकीमा इन्चार्ज भएको समयमा एकजना बूढा व्यक्तिसँग भएको भलाकुसारीलाई लेखकले मुख्य विषयवस्तु बनाएका छन् । प्रधानबाका घरमा गरिएको भलाकुसारी तथा प्रधानबाले लेखकलाई हलुवावेत तथा सुन्तला खान दिएको कुरा अविस्मरणीय रहेर आएको छ । मानवीय सम्बन्ध प्रगाढ हुन्छ भन्ने कुरा यस निबन्धले देखाएको छ । प्रस्तुत निबन्ध आत्मपरक तथा संस्मरणप्रधान ढाँचामा लेखिएको छ । शिल्प पक्षमा अलङ्कार र वक्रोक्ति सहायक साधन रहेका छन् । गाउँको माया पनि एक प्रबल विचारतत्व हो । यो निबन्ध चार पृष्ठसम्म फैलिएको छ । शोधनायकको अर्को निबन्ध ‘भोगाइको अनुभूति र प्राप्ति’ रहेको छ । यो निबन्ध संस्मरणात्मक हो । यस निबन्धमा समसामयिक बौद्धिक विषयलाई संस्मरणात्मक ढाँचामा प्रस्तुत गरिएको छ । निबन्धकार सुब्बाले यहाँ आफँै आफ्नो जीवनमा भोगेका र प्राप्त गरेका विषयलाई प्रस्तुत गरेका छन् । शारीरिक संरचना र वंशानुगत रूपले उनी त लाहुरे हुनुपर्ने हो तर उनी त जनस्वास्थ्य कार्यालयका अधिकृत रहेका छन् र विषयमा विभिन्न ठाउँमा भएका टीकाटिप्पणीलाई पनि यस निबन्धमा स्थान दिएको पाइन्छ । प्रस्तुत निबन्ध तीन पृष्ठसम्म फैलिएको छ । प्रस्तुत निबन्धको शैली आत्मपरक वा संस्मरणप्रधान मान्न सकिन्छ । शिल्प वा ढाँचालाई वर्णनात्मकताभित्र आफँैलाई अटाउने काम गरिएको छ । यसमा सडकमा उत्रिनुपर्छ भन्ने विचारतत्व प्रबल छ ।
त्यसैगरी शोधनायकको ‘मनको मझेरी’ सङ्ग्रहभित्रको अन्तिम निबन्ध ‘तालु’ रहेको छ । यो वस्तुपरक निबन्ध हो । यसको मूल विषय भाग्य र निधारसँग आबद्ध छ । जीवनमा परिवर्तन ल्याउनु छ भने परिश्रम गर्नुपर्छ अनि मात्र साँच्चै तालुमा आलु फल्दछ भन्ने कुरालाई सुब्बाले महत्वका साथ उल्लेख गरेका छन् । यसरी हाम्रो सामाजिक सोचाइहरूमा परिवर्तन हुन जरुरी छ । सबै तालु खुइलेहरू धनी र प्रतिभाशाली हुन सक्दैनन् । तालु खुइले त विभिन्न रोगका कारक पनि हुन सक्छन् । यसरी सुब्बाले ‘तालु’ निबन्धमार्फत परिश्रममा विश्वास गर्ने र भाग्यलाई दोष दिन नहुने मार्मिक कुरा उल्लेख गरेका छन् । यसको विचारतत्व श्रमसँग आबद्ध छ श्रमले नै मानिसहरू ठूला भएका छन् भनिएको छ । यो निबन्ध तीन पृष्ठसम्म फैलिएको छ ।
सुब्बाका निबन्धहरूमा ‘नयाँ नेपालको चित्र’ उच्च स्तरको निबन्ध हो । यसमा अनुच्छेद योजना, विषयवस्तु क्रमको शृङ्खला मिलेको पाइन्छ । यसमा कमजोरका पक्षमा गम्भीर र सहानुभूति दर्शाइएको छ । लेखक आफँै यस निबन्धका एउटा पात्र रहेका छन् । त्यसैगरी ‘तस्बिरमा पोखिएका कविताहरू’ विषयको चयनमा सूक्ष्म दृष्टि पुगेको निबन्ध हो । नेपालीहरूलाई दुखेको घाउ यस निबन्धको विषय रहेको छ । चित्रमा पनि गम्भीर वेदना लुकेका हुन सक्ने देखाइएका यस्ता निबन्धले प्रेरणा र सहानुभूति तथा समानताको अनुभूति विकास गराउने देखिन्छ । त्यस्तै ‘एकजोडी परेवा’ यस निबन्ध सङ्ग्रहको विषय र चयनमा सूक्ष्म दृष्टि पुगेको निबन्ध हो । ती एकजोडी परेवामा पशुका हत्याका प्रतिबिम्ब कोरिएका छन् । कसैले शान्तिका लागि उडाएका परेवाहरू धर्मका नाममा काटेर खाइन्छन्, त्यसकारण यस्ता निबन्धले सचेत रहन भक्तजनसँग आग्रह गर्छ । यो निबन्ध विषयवस्तुको चयनमा सूक्ष्म दृष्टि पुगेको निबन्ध हो भन्न सकिन्छ । तथापि यस प्रकारका निबन्धहरू सुब्बाले लेखेका छन् । सुब्बाको अर्को निबन्ध ‘पशुप्रति मानवीय संवेदनशीलता’ पनि हो । यस निबन्धले पृथ्वीलाई सबैको साझा घर हो भन्ने देखाउँछ । वैज्ञानिक दृष्टिले पनि पशुलाई मार्नुभन्दा अगाडि यातना दिनु हुँदैन । मार्ने उद्देश्यले कुखुरा झुन्डाएर लगेको चित्रलाई हेर्दा पशुभन्दा मान्छे धेरै तल रहेको ठहर गर्न सकिन्छ । यी निरीह पशुहरू मानिसको प्रेमको आशामा बाँचेका हुन्छन् भन्ने सन्देश यस्ता निबन्धमा पाइन्छ । यसैप्रकारको ‘तालु’ निबन्ध दिमागका बारेमा लेखिएको निबन्ध हो । तालु सबैको उस्तै हो तर कसैको कपाल खुइलो भएर तालु ठूलो हुन सक्छ । परिश्रम नगरी तालुमा आलु फल्दैन, त्यसकारण परिश्रम गर्नु हाम्रो दायित्व पनि हो । यस्ता राम्रा विषय भएका निबन्धहरूलाई शोधार्थीले प्रथम श्रेणीका निबन्धमा स्थापित गरेको कुरामा एक विश्राम लिन सकिन्छ । परशु प्रधानले भूमिकाबाट धेरै कुरा सङ्केत गरेका छन्, जसलाई यी निबन्धको महत्वपूर्ण पाटो मान्न सकिन्छ । सुब्बाको भाषा सहज र सरल छन् । आफ्नो कुनै पनि कुरा स्पष्ट र निर्भीक रूपमा प्रस्तुत गरेका छन् ।
दोस्रो तहका निबन्धहरू ‘श्रद्धाञ्जली एउटी लिम्बूनीलाई’ भन्ने निबन्धमा अत्यन्त नवीन जस्ता भएर आएका छन् । वास्तवमा जिउनलाई मानिस बेलाबेला कति कठोर बन्नुपर्दोरहेछ जस्तो वाक्यले मान्छेको मर्का बुझेको अनुभूति गरिन्छ । आमाका रूपहरू निबन्धमा महिलाको जीवनप्रति सहानुभूति राखिएको छ । त्यसकारण नारीहरू दयाका सागर हुन्छन् भन्ने कुरा आमाका रूपहरूमा प्रकाश गरिएकाले यो एउटा स्तरीय निबन्ध हो । ‘तरकारी बेच्ने महिला’ निबन्धलाई स्तरीय निबन्ध मान्न सकिन्छ र यसमा साना कुरालाई आँखा गाढेर हेरिएको छ । सहानुभूति राख्ने ठाउँ त्यस्तै हुन्छ भनेर बोध गराउने यो निबन्ध सामाजिक महत्वका दृष्टिले सुन्दर छ । ‘जन्तरे सरको टक्करी ट्वाक’ बाल्यकालको सम्झना बोकेको एउटा निबन्ध हो जसले कमजोरका पक्षमा लाग्न सन्देश दिन्छ । यसमा भनिएको छ “जे होस् आज मलाई गरिबका पक्षमा कमसेकम उभिन, केही गर्न, बोल्न र लेख्न नै आनन्द लाग्छ ।” यस्ता वाक्यहरू त्यसै पनि रहरलाग्दा हुन्छन् । ‘धन्यवाद धरावासी’ स्तरीय निबन्ध हो । यसमा लेखकबाट मान्छेको जीवन बन्दोरहेछ भन्ने तथा मोडिँदो रहेछ भन्ने बुझिएको छ, जूनका छायाँले मात्र मन कहाँ शीतल हुन्छ जस्ता वाक्यहरू त्यसै पनि साहित्यिक मर्म धान्ने खालका छन् । ‘साहित्यकार इमानदार हुन्छ’ निबन्धमा असल साहित्यकारको खोजी गरिएको छ । असल साहित्यकार त्यो हो जसले देशको लागि इमानदारीपूर्वक बोल्ने, लेख्ने फुर्सद साहित्यकारलाई मात्र हुन्छ । त्यस्तै ‘स्रष्टाप्रति समाजको अपेक्षा’ निबन्धमा सृजना गर्ने मानिसको सामाजिक महत्व रहेकाले विषय सुन्दर छानिएको छ, यसमा लेखिएको छ प्याजको पत्र खोल्दा केही हात नलाग्ने, तर खाँदा सधैं स्वादिलो प्याजझैँ लाग्ने रचना लेख्ने र पढ्न नै मनपनर्छ किन ? भनिएको छ । ‘टेलिफोन र थुतुना’ निबन्धमा सामाजिक महत्वको निबन्धमा अनुशासन सिकाइएको छ । राम्रो बोल्नु भनेको संसारमा सबैलाई जित्नु हो । बोल्न जाने ज्यान जाने बेलामा पनि बाँच्न सकिन्छ । पुस्तकालय ज्ञानका लागि स्थापना भएका संस्थाहरू हुन् । एउटा पुस्तकालयले पैसा तिर्न नसक्नेहरूका लागि मूल्य नतिरी सहयोग गर्छ, त्यसैले पुस्तकको माया गर्नु पुस्तकालय निबन्धको उद्देश्य हो । युग हाँक्ने पथप्रदर्शकको भूमिका पनि खेल्दोरहेछ पुस्तकालयले भनिएको छ । ‘बैंकक सहरमा कोइलीको स्वर’ निबन्ध प्राकृतिक गानाको स्वागत गर्छ । त्यसैले यो स्तरीय निबन्ध हो । विषयमात्र होइन प्रस्तुतीकरण पनि सरल र स्पष्ट छ । ‘स्मृतिका छालहरूमा प्रधानबा’ निबन्ध गाउँको माया गरिएको निबन्ध हो । यसमा आत्मीय माया गाउँमा पाइन्छ भन्ने विषय रहेको छ । विषय मात्र होइन प्रस्तुतीकरणमा भोगाइहरू सलबलाएका हुनाले निबन्ध स्तरीय रहन्छ ।
सामान्य तहका निबन्धहरू पनि छन् र त्यस्ता निबन्धहरूलाई सामान्य तहमा राख्नुपर्ने कारणहरू पनि छन् । ‘हाक्पारे सङ्गीत’ निबन्धमा विषयको चयनमा सूक्ष्म दृष्टि पुगेको भए पनि यसमा बीचबीचमा गीत हालिएको हुँदा निबन्धको धर्म विचलित भएको जस्तो देखिन्छ । तर लिम्बूहरूको गीत हुनाले विषयलाई सांस्कृतिक सम्पदातर्फ झुकेको मान्न सकिन्छ । अर्को निबन्ध ‘गीतसङ्गीतभित्र देश र जीवन खोज्दै’ जाँदा जनजीवनको विषयबाट उठेको निबन्ध हो । त्यस्ता कतिपय निबन्धमा बीचबीचमा गीतहरू भएकाले निबन्धको स्तरभन्दा पनि विधागत धर्म भाँचिएको छ । मायाप्रीतिका कुरा, सुरासुन्दरीका बयान, सिद्धान्तका नारा आदि आजकाल कला र साहित्यमा अटाई नअटाई आउने गर्दछन् । तर यसले मात्र जीवनको रथ चल्दैन । जीवन र जगत् जगाउने साथै जोगाउने गीत पनि चाहिन्छन् जस्ता भनाइ छन् । अर्को निबन्ध ‘जदौ दाहाल यज्ञनिधि’ निबन्ध व्यक्तिलाई सम्झेर लेखिएको निबन्ध हो । दाहाल यज्ञनिधि राष्ट्रिय स्तरका साहित्यकारका बारेमा लेखिएको यो निबन्ध विषय चयनमा सूक्ष्म दृष्टि पुगेको भए पनि बीचमा आउने कविताहरूले विधा मिश्रण गराएका छन् । अर्को निबन्ध ‘भोगाइको अनुभूति र प्राप्ति’मा लाहुरे र पत्रकार व्यक्तित्वको कुरा आएको छ । आफ्नै कवितासङ्ग्रहको एउटा सन्दर्भ र आत्नै विषयका धेरै गनथन भएकाले यसलाई अति सामान्य निबन्ध मान्न पनि सकिन्छ किनभने कविताका अंश–अंश निबन्धका लागि अनुकूल दफा होइनन् भन्ने शोधार्थीको तर्क रहेको छ ।
परशु प्रधानले भनेझैँ सुब्बाले लिएका विषयहरू समसामयिक र प्रसङ्गका हुन्छन् । आजको नेपाल र विश्वले भोगिरहेका, देखिरहेका प्रसङ्गहरू उनका निबन्धका विषयहरू बनेका छन् ।
नवराज सुब्बाले दिएको प्रश्नोत्तरभित्रका भनाइहरू समीक्षा गर्न लायक छन् । उनले निबन्ध लेखनको मूलभूत अभिप्रायलाई अन्तिम प्रश्नमा समेटेका छन् । निबन्धलाई रोचक र सुन्दर बनाउने प्रयास गरेको कुरा रमाइलो छ र असल छ । निबन्धकारले गुरु हुन नचाहेको र मित्रझैँ गफ गर्न चाहेको कुरा पाठकसँग अनुरोध गरेका छन् । उनको अनुभव ऊर्जा बनेर आएको छ जसलाई उनले सार्वजनिक सम्पत्ति भनेका छन् । अरु कुरा आफूलाई बढाइचढाइ नगरी दिएको अभिव्यक्ति लेखक सुहाउँदो प्रतिक्रिया हो । उनको भनाइ र गराइमा एकरुपता पाइन्छ ।
निबन्ध जीवनको भोगाइ हो । अनुभव र अवलोकनपछिको आफ्नो उपस्थिति तथा आत्मसात् गर्ने क्षमताको उपलब्धि हो । उनका निबन्धलाई हेर्दा स्वाभाविकता झल्कन्छ । स्मरण र आत्मवृत्तान्त आरोपित हुन्छन्, शाश्वत सत्यमाथि लेखकको अनुराग छ । रीतिथिति नराम्रा छन् भने आलोचना पनि गरिएको छ । परम्परागत निबन्धभन्दा यी निबन्ध शीर्षकबाटै फरक लागेका छन् । यसको उदाहरणका लागि ‘तस्बिरमा पोखिएका कविताहरू’लाई लिन सकिन्छ । यी निबन्धहरू पत्रकारिताबाट प्रभावित छन्, त्यसैले अत्यन्त मिल्ने गरी छोटा छन् । पत्रकारिता र साहित्यकारको घनिष्ट सम्बन्ध यी निबन्धमा पाइन्छ । मानवको माया गर्ने निबन्धकारको निबन्धसङ्ग्रहमा यी माथिका विशेषता रहेको ठहर तथा निष्कर्ष हुन्छ । मूलतः उनका निबन्धको प्रस्तुतीकरण शिल्पलाई हेर्दा आफूलाई परिधीय पात्र बनाउने र विषयवस्तु अर्कै हुने धर्म देखिएको छ ।

Comments are closed.