आफूलाई जान्नेबुझ्ने ठान्नेहरुको कुरा !

आफूलाई जान्नेबुझ्ने ठान्नेहरुको कुरा !

डा. नवराज सुब्बा

Shamanism मा Shaman (समन) लाई सामान्यतयाः जान्ने मान्छे वा परम्परागत उपचारक भनेर बुझिन्छ । बोन धर्ममा धामीझाक्री, बौद्ध धर्ममा लामा, हिन्दू धर्ममा पंडित/पुरोहित, लिम्बूमा साम्बा आदि नामले यिनीहरु प्रचलित छन् । आधुनिकीकरणसंगै आजकल यो जनशक्तिको कमी हुन थालेको छ । हिन्दू संस्कार गर्नलाई पंडित पुरोहित यतिन्जेलसम्म त सहज उपलब्ध छन् तर आदिवासी लिम्बू समुदायमा लिम्बू साम्बा पाउन भने निकै गाह्रो छ । यसैले जति मौलिक साँस्कृतिक चेतना बढे/बढाए पनि यसलाई ब्यवहारमा ल्याउन निकै चुनौति छ । एकजना लिम्बू मित्रलाई मैले आफ्नो अनुभव यसरी नै सुनाएँ र थपें– म पनि अलिअलि मुन्धुम अध्ययन गर्दैछु । त्यसलाई किताब हेरेर वाचन गरे त अर्थ त अलि अलि बुझिन्छ नि हौ । यो काम त जसरी बाहुनले किताब पढेर कार्य सम्पन्न गर्दछ उसैगरि हामीले पनि पढ्दा हुन्थ्यो कि हौ । जसोतसो काम चल्दथ्यो होला । मेरो कुरा सुनेर उनले मलाई जवाफ के जवाफ दिए भने– हुन त हो तर काम्नु प¥यो नि हौ,अहिलेका केटाहरु खै काम्नै जाँन्दैनन् । यसले मेरो आँखा खुल्यो ।

परम्परागत उपचारक समन परम्पराको बारेमा म पनि लामो समयदेखि अध्ययन गरिरहेको छु । यसको अध्ययनसंगै बीचबीचमा कविको पनि कुरो निकै आउँदो रहेछ । अध्ययनका क्रममा समन हुनलाई कवित्व पनि हुनु पर्ने रहेछ भन्ने निष्कर्षमा निकै अघि पुगेको थिएँ । जसलाई पर्याप्त सन्दर्भग्रन्थ सहित एउटा खोजमूलक अर्थात लेख हाल लेख्दैछु । लिम्बू साथीको माथि उल्लेखित कुरा सुन्दा मलाई एकजना कवि साथीको पनि याद आयो । उनी कविता लेख्दा त शब्द काप्नु पर्छ है भन्छन् । यसरी शब्द काप्नुलाई त पहिले कवि नै काप्नु पर्छ र यस्तो प्रभाव उत्पन्न गर्नु पर्दछ कि त्यो पढेर वा सुनेर पाठक वा श्रोता पनि काप्नु प¥यो । अनि मात्र शब्द काँपेको अनुभव हुन्छ । नत्र कागजको अक्षर आफै त हल्लिदैनन् कसरी काप्ला र । यसैले लिम्बूको साम्बा काप्नुलाई मुन्धुम पढेर वा सम्झेर यस्तो शक्ति हाँसिल गर्नु प¥यो कि उभित्र पहिले एउटा कम्पन आओस् । त्यसपछि उत्पन्न एउटा जोशमा वाचन गरिएका वा भनिएका कुराले मात्र स्रोतामा पनि त्यस्तै प्रभाव पर्दछ ।

एकजना अर्का साथी माबुहाङको एउटा कुरा पनि सम्झे । उनले एकपटक भनेका थिए– अहिलेका कलाकारमा खै एक्सन? माइकल ज्याक्सनले गीत गाउँदा कसरी एक्सन गर्छ, त्यो हेर्दा हेर्दै सुन्दासुन्दै स्वतः दर्शकलाई जुरुक जुरुक उठाउँछ र नचाउँछ नि हौ । कलाकार भनेको त त्यस्तो पो हुनु पर्छ त साथी भन्नु हुन्थ्यो । उनको कुरा मलाई सारै नै घत लाग्यो । कवि पनि झण्डै त्यस्तै हो मन्चमा उभिएर वाचन गरेर मात्र हुँदैन । मान्छेको भावनालई उद्वेलित गर्नेगरि भावभंगिमा सहित प्रस्तुत हुनु पर्दछ । त्यो त्यसै हुँदैन त्यसैले प्रथमतः कविताको शब्दमा नै त्यो शक्ति अन्तरनिहित हुनु पर्दछ अनि मात्र कवि त्यही भावमा डुबेर अरुलाई पन प्रभाव पार्न सक्दछ । माथि कविमित्रले भनेको पनि त्यही हो । लिम्बू साम्बाले हाक्पारे भन्दा भन्दै छेऊमा बस्ने महिला छाती पिटीपिटी धुरुधुरु रुन्छन् । संगै उभिएका पुरुषहरु पनि ल है … हो है… भन्दै लेग्रोसहित साम्बालाई समर्थन जनाउँछन् । यसरी काव्य वा मुन्धुममा भएको शब्दशक्तिले पहिले साम्बा काँपेपछि मात्र उसले निकालेका ध्वनिले पनि अरुको मन कँपाएर कोही रुवाउँछ, कोहीलाई बोल्न बाध्य बनाउँछ । यसैले समन, साम्बा र कविमा त्यसप्रकारको मनोवैज्ञानिक शक्ति वा अवस्थाको सृजना र संचार हुनु पर्दछ । प्राविधिक दृष्टिले हेर्दा यही प्रभाव उत्पन्न गर्न समन वा धामीझाक्रीले धेरै अघिदेखि जादूको प्रयोग समेत गर्दै आएका छन् । कवि मानिसको मन वा भावना तहसम्म पुग्न सक्दछ तर समन वा धामीझाक्री त्योभन्दा भित्रीतह आत्मासंग पुगेर सम्पर्क स्थापित गर्न सक्षम हुन्छन् भनेर विश्वास गरिन्छ । धामीझाक्री वा समनको निश्चित साधन जस्तै मन्त्र, काव्य, पहिरन हुन्छन् । कविको पनि काव्य हुन्छ कतिपय कविले विशेष पहिरन पनि लगाउँछन् । कविले समनले जस्तो जादू प्रयोग गर्न सक्तैनन् तर यही प्रभाव उत्पन्न गर्न खोज्छन् आदि ।

समनको अध्ययनको क्रममा कविसित तुलना गरेका धेरै वैज्ञानिक लेख पढिसकेपछि मैले एकदिन फेसबुकमा यसरी नै कवि र धामीझाक्री उस्तै उस्तै लाग्न थाल्यो है भनेर सानो टिपोट राखेको थिए । आफूलाई कवि ठान्ने एकजना मित्रले मलाई आपत्ति नै जनाउनु भए जस्तो लाग्यो । हामी कविलाई धामीझाक्रीको कोटीमा राख्ने हो? भन्दै मलाई संकेत गर्दै आजकल आफूलाई विद्वान ठान्नेहरु आफूलाई धेरै विद्वान ठान्छन् भन्ने आशयले तीतो पोख्नुभयो । उहाँलाई र यसमा बिमति राख्ने साथीलाई अझै पनि मेरो विनम्र अनुरोध के छ भने कृपया गुगल वा गुगल स्कलरमा गएर धामीझाक्री (समन) कवि (पोयट) लेखेर सामग्री सर्च वा खोज्नु होस् । विभिन्न अनुसन्धाताले समन र कविका विषयमा अनुसन्धान गरेर प्रसस्त वैज्ञानिक लेखहरु प्रकाशित गरेका छन् । हालै मैले मिहाली होपलले दशकौं लगाएर गरेको एक अनुसन्धान लेख हेर्दा त्यहाँ समन वा धामीझाक्रीलाई त अझ मानवशास्त्रीसित तुलना गरिएको रहेछ । जसरी मानवशास्त्रीले मात्र प्राचीन गुफामा कोरिएका चित्रको ब्याख्या गर्नसक्छ त्यस्तो काम धामीझाक्रीले मात्र गर्न सक्छ भनेका छन् । यसैले परम्परागत ज्ञान भनेको मानव इतिहासको लामो कालखण्डको अनुभव वा सिकाई हो जसलाई आधुनिक उपलब्धिलको प्रभावमा परेर बूढाबूढीलाई बृद्धाश्रममा लगेर थन्क्याए जस्तो कृतघ्नता देखाउनु हुँदैन । हेक्का राखौं, जसरी कवि भन्दा कोही आफूलाई गौरव महसूस गर्छन् उसैगरि कतिपय ठाउँमा कविताको कुरा गर्दा नाक खुम्च्याउने पनि हाम्रै वरिपरि छन् है !

Comments are closed.